
काठमाण्डु, ४ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली मोही खडा गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पास गरिएको प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ ।
सीआईबी उच्च अधिकारी बयानका लागि आइतबार साँझ कोटेश्वरस्थित नेपाल निवास गएका थिए । नेपालले डेढ घण्टा लामो बयान दिएका छन् । बयानका क्रममा नेपालले आफू प्रधानमन्त्री हुँदा भू–माफियासँग मिलेर सरकारी जग्गा हिनामिना गर्न नभई प्रधानमन्त्री निवास विस्तारको निर्णय गरेको बताए ।
मुलुकको हितमा काम गर्दा अनावश्यक लाञ्चना लगाउने काम भएको उनको भनाइ थियो । सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिइएको जानकारी दिइन् । यसअघि अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सिआईबीले टोखास्थित घरमै गएर बयान लिएको थियो ।
सर्वोच्च अदालतले २१ साउनमा पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपालसहित बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने निर्णयमा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन आदेश दिएको थियो ।
भट्टराई र नेपालसँग बयान नै नलिइ सीआईबीले प्रतिवेदन बुझाउन लागेको भन्दै प्रतिपक्षी एमालेले विरोध गरेको थियो ।