आजदेखि तीन दिन अधिक वर्षा, सतर्क रहन मौसमविदको सुझाव

काठमाण्डु टुडे २०८० भदौ ४ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर अधिक वर्षा हुने जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि मुलुकका अधिकांश स्थानमा वर्षात जारी छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पनि एक/दुई स्थानमा भारी वर्षा भइरहेको कँडेलले बताइन् ।

भारतको मध्यप्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा आइरहेको तथा माथिल्लो वायुमण्डलले पनि बादल विकास गरिरहेकाले वर्षा थप बढ्ने सम्भावना हरेको महाशाखाले जनाएको छ । भारी वर्षतको क्रम अझै दुईदेखि तीन दिनसम्म जारी रहने कँडेलले बताइन् ।

दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।
महाशाखाले आगामी २४ घण्टासम्मका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । वर्षातका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us