एमाले सचेतकले संसद भवनबाहिर किन बोले सफेद झुठ ?

काठमाण्डु टुडे २०८० भदौ ३ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीमा मुछिएका सत्ता पक्षका मानिस जोगाउन छानबिनमा संलग्न प्रहरी उच्च अधिकारीको सरुवा गरेको आरोप लगाएको छ ।

एमाले सचेतक महेश बर्तौलाले सत्तापक्षका नेता जोगाउन सरकारले छानबिनमा संलग्न प्रहरीको सरुवा गरेको आरोप लगाए । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले प्रहरीलाई सत्तापक्षले आफ्नो इसारामा चलाएको आरोप लगाए ।

मन्त्रिपरिषदले केही दिनअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको थियो । उक्त प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरिरहेको छ । तर, सरकारले सिआईबीकी निर्देशन किरण बज्राचार्यको भने सरुवा गरेको छैन । बर्तौलाले प्रहरीले नभई सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने आफूहरुको मागको औचित्य सिद्ध भएको तर्क गरे ।

‘अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई, एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तिहरूतर्फ, मुर्धन्य व्यक्तिहरूतर्फ सोझिन थाल्यो । त्यसपछि सत्ताघटकले प्रहरी अधिकारीलाई सरुवा गर्न थाल्यो’, उनले भने, ‘यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआईबी होस् वा राजस्व अनुसन्धान विभाग होस्, यी कुनै पनि इकाइले निष्पक्ष, स्वतन्त्र ढंगले काम गर्न सकिराखेको छैन ।’
मन्त्रिपरिषदले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका श्यामलाल ज्ञवाली, प्रशासन विभागका दीपक थापा, कार्यविभागी मिरा चौधरी, प्रहरी प्रशिक्षण प्रतिष्ठानका टेकप्रसाद राई र मानव श्रोत विभागका सन्दिप भण्डारीको सरुवा गरेको थियो । ६० केजी सुन तस्करी अनुसन्धान गरिरहेको सिआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यको भने सरुवा भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us