सभामुखका अगाडि काँग्रेस र माओवादी सांसदको भनाभन

काठमाण्डु टुडे २०८० भदौ ३ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र माओवादी प्रमुख सचेतक हितराज पाण्डेबीच भनाभन भएको छ ।

संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आइतबार बोलाएको बैठकमा गुरुङ र पाण्डेबीच विवाद भएको हो । बैठकमा पाण्डेले काँग्रेस सांसद सुनिल शर्माले माओवादीलाई आतंककारी भन्ने शब्द प्रयोग गरेको र उक्त शब्द असंसदीय भएकाले संसदको रेकर्डबाट हटाउनुपर्ने बताए । सभामुखले उक्त शब्द रेकर्डबाट नहटाएकामा उनले आपत्ति जनाए ।

आफूले तत्काल नियमापत्ति गरे पनि सभामुखले उक्त शब्द रेकर्डबाट नहटाएकामा पाण्डेले असन्तुष्टि जनाए । गुरुङले शर्माको शब्द असंसदीय नभएकाले हटाउन जरुरी नभएको बताए । त्यसपछि पाण्डे कड्किए । त्यस क्रममा दुवैबीच भनाभन भएको संसद सचिवालय श्रोतले जनाएको छ ।

काँग्रेस सचेतक सुशीला थिङले कुनै दलले दाबी गर्दैमा शब्द संसदीय वा असंसदीय भन्न नमिल्ने बताइन् । काँग्रेसको तर्कमा प्रतिपक्षी एमाले प्रमुख सचेतक पदम गिरीले साथ दिए । उनले पनि शर्माले संसदको रेकर्डबाट हटाउनुपर्ने कुनै अभिव्यक्ति नदिएको जिकिर गरे । शर्मा आइएस्सीको नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा पक्राउ परेका थिए ।

सोही विषयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us