घनश्याम भुसालको प्रश्नः ओली किन माओवादी जनयुद्धलाई कहिले महान्,कहिले आतंककारी भन्छन् ?

काठमाण्डु टुडे २०८० भदौ २ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, २ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् ।

‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीको इतिहासबारे ओलीले दिने अभिव्यक्ति घृणास्पद हुने गरेको बताए ।

माओवादी विद्रोहलाई कहिले महान् भन्ने र कहिले हत्यारा र आतंककारी भनेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको उनले उल्लेख गरे । ओलीको कम्युनिस्ट चेत गलत भएको आरोप भुसालले लगाए । पशुपतिनाथमा सुनको जलहरी चढाएसँगै ओलीको कम्युनिष्ट चेत गएको भुसालले बताए ।

‘केपी ओलीलगायत साथीहरूले माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन्, हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरि इतिहासलाई अझै धेरै अगाडि लैजान्छौँ भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरि जतिखेर मिलिन्छ, त्यतिखेरचाहिँ यो महान कुरा थियो भन्ने’, उनले भने, जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु मचाहिँ ।’

नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार भुसालले दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us