तस्करीमा महरा बाबुछोरा मुछिए उन्मुक्ति हुँदेनः श्रेष्ठ

काठमाण्डु टुडे २०८० भदौ २ गते १६:४२ मा प्रकाशित

पोखरा, २ भदौ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको सुन तस्करीमा संलग्नता पुष्टि भए कारबाही हुने बताएका छन् ।

प्रेस सेन्टरले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो अर्को नभर्नी निष्पक्ष छानबिन हुने बताएका हुन् । कुनै दल, नेता र घरानाका आधारमा कारबाही र उन्मुक्ति नहुने उनको भनाइ थियो । ‘कोही माओवादी पर्यो भने पनि छुट्दैनन् । कोही कांग्रेस, एमालेको मतलब छैन । कुनै घरनाको मतलब छैन । कुनै सम्बन्धको मतलब छैन,’ उनले भने, ‘दोषी देखिए कसैले पनि उन्मुक्ति पाउँदैन ।’ अपराध र तथ्य प्रमाणका आधारमा अनुसन्धान भइरहेको भन्दै उनले दोषी नउम्कने र निर्दोषले सजाय नपाउने उल्लेख गरे ।

श्रेष्ठले सुन काण्डको छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) सक्षम रहेकाले छानबिन समिति गठनको जरुरी नरहेको बताए । प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर पटकपटक संसद अवरुद्ध गर्दै आएको छ ।

विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको दृष्टान्त प्रस्तुत गर्दै उनले संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका राज्यका संरचना र संयन्त्रहरुलाई काम गर्न दिइनुपर्नेमा जोड दिए । एमालेले छानबिन समिति गठनको माग राखेर संसद अवरुद्ध गर्नु दुःखद् रहेको उनको भनाइ थियो ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला २२ केजी सुन काण्डको छानबिन समिति बनाए पनि दोषीमाथि कारबाही नभएको श्रेष्ठले जनाए । ‘त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन,’ श्रेष्ठले भने, ‘न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुनु सबैको लागि लज्जाको विषय भएको प्रष्टीकरण उनले दिए । सुन तस्करीका कारण
देशको छविलाई नै आघात पुगेको तथा राजश्व संकलन र अर्थतन्त्रमै असर परेको श्रेष्ठले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापन नयाँ नीति र योजनाका साथ अगाडि बढ्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us