
काठमाण्डु, १ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानन्मन्त्रीत्वको दोश्रो कार्यकालमा मुलुकबाट लोडसेडिङ अन्त्य गरेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्नुअघि १८ घण्टासम्म लोडसेडिङ हुने गरेको सम्झिए । आफूले प्रधानमन्त्री नियुक्त भएको तीन महिनामा मुलुकबाट लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा धेरैले नपत्याएको सम्झना प्रचण्डले गरे ।
कतिपय मानिसले मुलुकबाट लोडसेडिङ अन्त्य भयो भने खुलामञ्चमा गएर आत्महदाह गर्नेसम्मको अभिव्यक्ति दिएको प्रधानमन्त्रीले उल्लेख गरे । ‘दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए । लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो ।
नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो,’ प्रचण्डले भने, ‘ त्यो बेला मैले तीन महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए । कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए ।’
आफूले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि उनले सरकारको संकल्प इमानदारिता र मिहिनेतका कारण १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाउन सफल भएको बताए । आफूले सरकारको नेतृत्व गरेको समयमा ऊर्जा क्षेत्रको विकास तथा देश र जनताको हितमा दूरगामी महत्वका धेरै काम भएको दाबी गरे ।
प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम आफ्नै नेतृत्वको सरकारले गरेको दाबी उनको थियो । उनले आउने पिँढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने भन्ने गम्भीर प्रश्न अहिलेको पुस्तालाई रहेको बताए ।
आउँदो पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगरी इमानदार भएर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए । सरकार विद्युतको आन्तरिक खपत वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत स्पष्ट लक्ष्यसाथ अघि बढिरहेको बताए ।
१ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलासय तथा १० हजार ८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने सोच र योजना साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्याउने गरी भारतसँग सम्झौता भएको उनले बताए ।
यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि उनले बताए ।
आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता उनको दाबी थियो ।
चीनसँग चिलिमे–केरूङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढिएको जानकारी दिए ।