काठमाण्डु, ३२ साउन–एमालेले अबदेखि सार्वजनिक कार्यक्रमको मञ्चमा अध्यक्ष केपी ओलीको मात्र फोटो राख्ने भएको छ ।
केही दिनअघि बसेको पार्टी सचिवालय बैठकको निर्णयअनुुसार ओलीको मात्र फोटो राख्न मातहत कमिटीमा परिपत्र गरिएको छ । एमालेले यसअघि सार्वजनिक कार्यक्रममा कम्युनिष्ट संस्थापक नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बीर राख्ने गरेको थियो ।
उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा अध्यक्षको मात्र फोटो राख्ने निर्णय भएको बताएका छन् । एमालेका कार्यक्रममा भद्दा आसन ग्रहण निषेध, फूलमाला र खादा निरूत्साहित गरिने, कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताए ।
‘सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी देहाय बमोजिमको निर्णय एमालेले नियमित परिपत्रमार्फत् पार्टी पंक्तिमा प्रेषित गर्दैछ’, रिमालले लेखेका छन्, ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने ।’
पार्टी केन्द्रीय उद्योग तथा बाणिज्य विभागले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी निर्णय सार्वजनिक गर्दा हलमा सयौंको संख्यामा उपस्थित उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिहरुले ताली बजाएर स्वागत गरेको रिमालले उल्लेख गरे ।
यस्तै रिमालले मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने निर्णय पनि सचिवालयले गेको एमालेले जनाएको छ ।