
काठमाण्डु, ३१ साउन–कांग्रेस नेता विमलेन्द्र निधिले आगामी २०८४ सालमा हुने आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने दाबी गरेका छन् ।
बुधबार धादिङमा आयोजित कार्यक्रममा निधिले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुअघि सत्तारुढ घटकबीच आमचुनाव देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको बताए ।
२०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर एकल सरकार बनाउने दाबी उनको थियो । त्यसका लागि पार्टीले संगठन सुदृढ बनाउने नीति लिएको बताए । सोहीअनुसार जनताका पक्षमा परिचालित हुन उनले पार्टी पंक्तिलाई निर्देशन दिए ।
फरक प्रसंगमा निधिले सरकार परिवर्तन हुनु अस्थिरता नभई संसद भंग हुनु चाहिं अस्थिरता भएको टिप्पणी गरे । उनले प्रचण्डपछि एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरे ।
‘पाँच वर्षमा देशले तीन जना प्रधानमन्त्री पाउनेछ’, उनले भने, ‘०८४ को आमनिर्वाचन नेपाली काँग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउनेछ ।’
निधि धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका पिता सोमनाथ ढुंगानाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिन निधि धादिङ पुगेका हुन् । कार्यक्रममा सभापति देउवा पनि सहभागी थिए ।