
काठमाण्डु, २८ साउन– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली प्रमाणपत्र बनाएर डाक्टर भएको आरोपमा पक्राउ परेका एक जना सक्कली डाक्टर रहेको खुलासा भएको छ ।
महोत्तरी पिपरा–८ का रञ्जितकुमार यादवलाई सिआईबीले नक्कली प्रमाणपत्र पेस गरी डाक्टर पढेको आरोपमा पक्राउ गरेको थियो । तर, अदालतले सक्कली प्रमाणपत्र भएको पुष्टि भएकाले रिहा गर्न आदेश दिएको थियो । प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले यादवको आइएससीको शैक्षिक प्रमाणपत्र सक्कली रहेको पाइएको जनाए ।
प्रहरीले अपरेशन सञ्चालन गरी काँग्रेस सांसद् सुनिल शर्मासहित ८ जनालाई प्रमाणपत्र किर्ते गरी डाक्टर पढेको आरोपमा पक्राउ गरेको थियो । प्रमाण नष्ट गर्ने सम्भावना नरहेको भन्दै जिल्ला अदालत काठमाण्डुले शर्मालाई तारेखमा रिहा गरेर अनुसन्धान गर्न शुक्रबार आदेश दिएको थियो ।
एकै ठेगाना र एकै नाममा दुई व्यक्ति भएकाले अनुसन्धान अधिकारी झुक्किएको प्रष्टीकरण प्रहरीले दिएको छ । ‘नाम, ठेगाना, पेशा सबै एकै भएकाले मानिस पहिचान गर्न त्रुटि भयो’, प्रहरी प्रवक्ता कडायतले भने । मेडिकल काउन्सिलले दिएको मेडिकल नम्बर र नामका आधारमा प्रहरीले अनुसन्धान गरेको उनको भनाइ थियो ।
सोही नामका नक्कली चिकित्सक भने बाहिरै रहेको पाइएको कडायतले बताए । ती नक्कली डाक्टरको खोजी जारी रहेको जानकारी कडायतले दिए । मेडिकल काउन्सिलका प्रवक्ता एवं रजिष्ट्रार कृष्ण अधिकारीले प्रहरीलाई नक्कली डाक्टरको विवरण आफूहरुले उपलब्ध गराएको बताए ।
बाबुको नामबाहेक नक्कली र सक्कली डाक्टरका बाँकी सबै मिल्ने भएकाले यस्तो भएको अधिकारीले जनाए ।
‘अहिले पक्राउ परेका व्यक्ति जनकपुर पढेका रहेछन् । प्रमाणपत्र किर्ते गर्नेले चाहिं बंगलादेश पढेका रहेछन्’, उनले भने, ‘सक्कली डाक्टरका परिवार आएर हामीलाई कुरा गरेपछि तथ्य थाहा भयो ।’
नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर भएका रामबाबु यादव, एलिना साह, अमित चौधरी, श्रद्धा शिल्पकार, मनित चौधरी र पुनम थापा हाल सिआइबीको हिरासतमा छन् ।