सुनिल शर्मालाई प्रहरीले कुट्यो !, काँग्रेसमा विद्रोह गर्ने शर्माको चेतावनी

काठमाण्डु टुडे २०८० साउन २८ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर तारेखमा रिहा काँग्रेस सांसद सुनिल शर्माले आफ्नो पक्राउ पर्नुको कारणबारे पार्टी नेतृत्वले जवाफ दिनुपर्ने बताएका छन् ।

काँग्रेस संसदीय दल बैठकमा आइतबार शर्माले आफूलाई गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै आक्रोश व्यक्त गरे ।

संसदीय दल बैठकले आफ्नो पक्राउ प्रकरणबारे पार्टीको धारणा स्पष्ट हुने गरी निर्णय गरिनुपर्ने माग पनि उनले राखे । शर्माले आफूलाई उत्तरकोरियाली शैलीमा पक्राउ गरिएको भन्दै आक्रोश पोखे । पक्राउ परेको तीन घण्टापछि मात्र प्रहरीले पक्राउ पुर्जी थमाएको र हिरासतमा हातपातसमेत भएको आरोप उनले लगाए ।

शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो –सिआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरेको आरोपमा बिहीबार पक्राउ गरेको थियो । काठमाण्डु जिल्ला अदालतको आदेशमा शुक्रबार उनी तारेखमा रिहा भए । शर्माले आफूले पटकपटक समय माग्दा पनि प्रतिनिधिसभामा बोल्न नदिइएकाले सञ्चार माध्यम र सार्वजनिक रुपमा बोल्न बाध्य भएको दाबी गरे ।

उनले प्रमुख सचेतक रमेश लेखकले आफूलाई बोल्न समय नदिएको आरोप लगाए । आगामी दिनमा पनि त्यसै गरी बोल्न नदिइए विद्रोह गर्ने चेतावनी शर्माले सभापति शेरबहादुर देउवालाई दिए । आफूले मागेको समयमा संसदमा बोल्न दिए मात्र पार्टी अनुशासनमा बस्ने उनको भनाइ थियो ।

उनले पञ्चायती शैली पार्टीमा नभल्ने भन्दै बोल्न दिन माग गरे । ‘पटकपटक बोल्न समय माग्दा प्रमुख सचेतकले दिनुभएन’, शर्माले भने, ‘पञ्चायतमा जसरी बोल्न नदिने हो भने पार्टीमा विद्रोह हुन्छ ।’

शर्माले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर सभापति शेरबहादुर देउवा नेतृत्वमा अर्को सरकार गठन हुनुपर्ने बातए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us