
काठमाण्डु, २८ साउन– नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर तारेखमा रिहा काँग्रेस सांसद सुनिल शर्माले आफूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतबारे नीतिगत र नैतिक प्रश्न उठाएको बताएका छन् ।
काँग्रेस संसदीय दल बैठकमा आइतबार शर्माले सय केजी सुन विमानस्थल भन्सारबाट बाहिरिएको विषयमा दुवै मन्त्रीले जवाफ दिनुपर्ने विषय आफूले उठाएको बताए । शर्माअघि बोलेका अर्थमन्त्री महतले आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिएका थिए । शर्माले भन्सारबाट क्विटलका क्विन्टल सुन आउँदा प्रहरी प्रशासनको नेतृत्व गर्ने गृहमन्त्री र अर्थमन्त्रीलाई जानकारी हुँदैन भन्ने जनताले नपत्याउने तर्क गरे ।
अर्थमन्त्री महतसँग व्यक्तिगत रिसीइबी नभएको प्रष्टीकरण उनले दिए । शर्माले आफ्नो अभिव्यक्तिमा कमजोरी भए आउँदो दिनमा सच्याउने प्रतिबद्धता जनाए । शर्माले महतले सुन तस्करी गरेको भनेर कहिल्यै नबोलेको जिकिर गरे । ‘प्रकाश दार्र्र्इ (प्रकाशशरण महत) सुन तस्कर हो, उहाँले सुन तस्करी गर्नुभयो भनेको छैन’ उनले भने, ‘गृहमन्त्रीले पनि सुन तस्करी गर्नुभयो भनेको मैले भनेको छैन ।’
तर, तस्करीको नैतिक जिम्मावारी भने दुवै मन्त्रीले लिनुपर्ने उनको भनाइ थियो । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग पनि शर्माले राखे । शर्माले आफूलाई पक्राउ गर्नुको कारणबारे प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए ।