
काठमाण्डु, २८ साउन– एमाले अध्यक्ष केपी ओलीले नेपालमा दैनिक सय किलो तस्करीको सुन भित्रिइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले विभिन्न नाकाबाट दिनको सय किलो अवैध सुन भित्रिने गरेको बताए ।
भन्सारमा जे छुँदा पनि सुन नै निस्किने गरेको उनको भनाइ थियो । ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ ओलीले भने । ओलीले भन्सारबाट तस्करीका सामान आउने गरेकाले राजश्व कम उठ्ने गरेको आरोप लगाए ।
ओलीले तस्करीमा सरकारको संलग्नता रहेको आशंका आफूहरुलाई भएको बताए । सोही कारण एमालेले छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेको उल्लेख गरे । उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग सुनेर सरकार पहिल्यै डराएको दाबी उनले गरे ।