
काठमाण्डु, २८ साउन– गएरातिदेखिको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएको र केही रद्द भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ । यस्तै चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज बीच बाटोबाटै फर्किएका छन् ।
अरु अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको तिवारीले बताए ।
आन्तरिकतर्फ काठमाण्डु–पोखरा र सुर्खेत विमानस्थल सञ्चालनमा आउन सकेका छैनन । काठमाण्डु–तुम्लिङटारका भने सबै हवाई उडान रद्द गरिएका छन् ।