
काठमाण्डु, २८ साउन– काँग्रेस सांसद् सुनील शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंककारी गृहमन्त्री भएको आरोप लगाएका छन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेर जिल्ला अदालतको आदेशमा रिहा भएका शर्माले प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठमाथि आतंककारीको आरोप लगाए । उनले श्रेष्ठले आफूलाई पक्राउ गरेकामा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
उनले काँग्रेसको भोटले जितेर काँग्रेसका मानिसलाई थुन्ने गृहमन्त्री तानाशाही भएको टिप्पणी गरे । सय केजी सुन तस्करी प्रकरणमा आफूले राजीनामा मागेको प्रतिशोधमा गृहमन्त्रीले पक्राउ गरेको दाबी शर्माको थियो । उनले आफूलाई पक्राउ गरेकै दिनबाट यो सरकारको दिनगन्ती सुरु भएको बताए ।
‘प्रचण्ड र अहिलेको गृहमन्त्रीले काँग्रेसर्लाइ विष पिलाइरहेका छन् । यो सरकारमा बस्न आवश्यक छैन । हामीले सरकार छाड्नुपर्छ । अर्को सरकार बन्छ बन्दैन छोड्नुस् । यस्तो सरकारमा बस्छौं हामी, आतंककारी सरकारमा ?’, उनले भने ।
नक्कली प्रमाणपत्र प्रकरणमा आफूविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गत भदौमै चारवटा फाइल तयार गरेको सूचना आफूलाई पहिल्यै भएको खुलासा उनले गरे ।
‘मेरोविरुद्ध गत भदौमै चारवटा फाइल तयार पारिएको थियो’, शर्माले भने, ‘जब मैले सुन तस्करीमा गृहमन्त्रीको राजीनामा मागें, तब मलाई पक्राउ गरियो ।’