
चितवन, २७ साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले चीन र बंगलादेशसँग विद्युत व्यपार सम्झौताको तयारीमा सरकार रहेको बताएका छन् ।
विश्व युवा दिवसका शनिबार चितवनको पटिहानीमा आयोजित कार्यक्रममा उनले भारत भूमि हुँदै बंगलादेशमा विद्युत बिक्री गर्ने विषयमा सहमति भएको भन्दै अब त्यस्तै सहमति चीनसँग पनि हुने बताए ।
उत्तरी रसुवा नाकामा दुई देशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा चीनसँग सहमति भएको जानकारी उनले दिए । आफ्नो चीन भ्रकमणका दौरान विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने उनको भनाइ थियो ।
‘भारतको बाटो हुँदै बंगलादेशमा विद्युत व्यापार गर्ने समझदारी भइसकेको छ’, उनले भने, ‘म चीन भ्रमणमा जाँदैछु । चीनसँग विद्युत र भौतिक पूर्वाधारको निमार्णको क्षेत्रमा नयाँ सहमति हुने स्थिति छ ।’
प्रचण्डले नेपालमा विद्युत उत्पादन बढाउने र भारत तथा चीनमा विजुली बेचेर मुलुक समृद्ध बनाउन सकिने उल्लेख गरे । महत्वाकांक्षी बुढी गण्डकी र कर्णाली चिसापानी जलविद्युत आयोजनाको काम अघि बढाउन ठोस पहल भएको उनले बताए ।
प्रचण्डले विद्युत व्यापारबाट नेपालको अर्थतन्त्रमा ‘गेम चेन्जर’ को भूमिका खेल्न सकिने चर्चा गरे ।
उनले १० हजार मेगावाट विद्युत उत्पादन गरी अर्थतन्त्र माथि लैजान र युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकार लागिपरेको बताए ।