
काठमाण्डु, २७ साउन– प्रहरीले बाढीमा फसेका दुई बालकको ज्यान बचाएको छ ।
शनिबार कीर्तिपुरस्थित बल्खु खोलामा फसेका दुई बालकको उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले बताए ।
कलंकी बस्ने १२ वर्षीय रिदम अधिकारी र ११ वर्षीय सुमित आचार्य बाढीमा फसेका थिए ।
लामाका अनुसार पौडी खेलिरहेका उनीहरु एक्कासि बाढी आएपछि खोलाको बीचमा फसेका थिए ।
स्थानीयले खबर गरेपछि डिएसपी लामाले तत्काल उद्धारका लागि प्रहरी टोली पठाएका थिए ।
दुवै बालकलाई उद्धार गरी वृत्तमा राखिएको र परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।