
काठमाण्डु, २७ साउन- झापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ ।
नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ ।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसीक्यामेरा जडान गरिएका छन् ।सिसीक्यामेराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्नेछ । कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सिसीक्यामेरा जडान गरेको छ ।
दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउछन्।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसीक्यामेरा जडान गर्ने कार्य थालिएको छ ।
मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् ।