डेङ्गुबाट चितवनमा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० साउन २६ गते १५:३३ मा प्रकाशित

काठमाण्डु ,२७ साउन-  डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।चालु आर्थिक वर्ष २०८०-८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us