
काठमाण्डु, २५ साउन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि राज्य धर्म र जात विशेष नहुने बताएका छन् ।
आज २९ औं विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले कतिपयले जातका आधारमा सेन्टिमेन्टल बनाएर र भावनामा बगाएर नेपालीहरुबीच द्वन्द्व र फाटो ल्याउने प्रयास भइरहेको बताए ।
‘जातका आधारमा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ’, ओलीले भने, ‘त्यसबेला कसैले यो देश जोगाएर जोगिँदैन ।’
ओलीले पहिचानको मुद्दा घृणा र विद्वेष फैलाउन नभई मित्रता कायम गर्नका लागि हुनुपर्ने बताए । ‘उनले विविधतामा समानता आवश्यक रहेको भन्दै एउटै देशका जनतामा कोही धनी हुने कोही खान लाउननै नपुग्ने स्थिति हुन नहुने पनि बताए ।