ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा

काठमाण्डु टुडे २०८० साउन १९ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, १९ साउन-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए ।

जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको उनले बताए। नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्र २०७६ को कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् । उनले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए ।

यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन्। यस्तै ४५ टि९२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us