कोशी प्रदेशका सभामुख गौतमले राजीनामा दिने

काठमाण्डु टुडे २०८० साउन १६ गते ८:३९ मा प्रकाशित

काठमाण्डु, १६ साउन– कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अन्ततः राजीनामा दिने भएका छन् ।

सत्तारुढ गठबन्धनको निर्णयअनुसार गौतमले राजीनामा दिन लागेका हुन् । यसअघि काँग्रस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका थिए । उनको कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले थापाको नियुक्ति नै बदर गरेको थियो ।

अदालतको आदेशपछि ‘आफूबाट भएको गल्ती अदालतले सच्याइदिएको’ टिप्पणी गौतमले गरेका थिए । माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित गौतमलाई प्रधानमन्त्रीसमेत हरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु बोलाएर सभामुखबाट राजीनामा दिएर सरकार निर्माणको वातावरण बनाउन निर्देशन दिएका थिए । ‘अन्तिमसम्म उहाँ राजीनामा नगर्नेमै हुनुहुन्थ्यो’, माओवादी केन्द्रका एक नेताले भने, ‘सरकार बन्नै नसक्ने अवस्थामा राजीनामा दिनुपर्छ भन्ने कुरा आएकाले राजीनामा दिन लाग्नुभएको छ ।’

सर्वोच्चले एक साताभित्र संविधानको धारा (७६) २ अनुसार बहुमतीय सरकार गठनको समयसीमा ताकेको थियो । सोहीअनुसार प्रदेश प्रमुख पर्शराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।

सत्ता गठबन्धनका दलहरुले पुनः काँग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा सत्तारुढ र विपक्षी गठबन्धनको ४६÷४६ सांसद छन् । माओवादीबाट सभामुख निर्वाचित गौतमले राजीनामा दिएपछि सत्ता गठबन्धनको पक्षमा ४७ जना हुनेछन् ।

तर, एक महिनापछि मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना कमजोर छ । किनकी त्यतिबेला एमालेले उपसभामुखको राजीनामा गराउन सक्छ । त्यसो हुँदा बैठकको अध्यक्षता काँग्रेसका गयानन्द मण्डलले गर्नुपर्ने अवस्था आउँछ । फेरि पनि बराबरीको कोशीको राजनीति गोलचक्करमा फस्ने देखिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us