प्रहरीका डिएसपीः नाम ठगबहादुर, काम पनि ठगी

काठमाण्डु टुडे २०८० साउन ९ गते २२:२१ मा प्रकाशित

काठमाण्डु, ९ साउन– गृह मन्त्रालयले नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलको प्रमुख रहेका बेला केसीको कोठाबाट अवैध सुन र नगद बरामद भएको थियो । प्रहरी प्रधान कार्यालयले डिआईजी चन्द्रकुबेर खापुङ नेतृत्वमा गठित समितिले एक महिनाअघि आचरणविपरीत कार्य गरेकाले केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्तगीका लागि सिफारिस गरेको थियो ।

मंगलबारदेखि लागू हुने गरी गृहले उनलाई बर्खास्त गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुँवेरसिंह कडायतले जानकारी दिए । प्रहरीले गत मंसिरमा बुटवलका सुन व्यवसायी किसन विकबाट ३६ तोला ३२ लाल अवैध सुन बरामद गरेको थियो ।

उक्त सुन प्रहरी कार्यालयमा नराखी केसीले घरमा राखेका थिए भने विकविरुद्ध मुद्धा चलाएका थिएनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले केसीलाई गत ११ पुसमा सुन र विकबाट लिएको ८ लाख ५० हजार नगद रुपैयाँ तथा ९ लाख ५० हजार रुपैयाँको चेकसहित घरबाटै पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us