
काठमाण्डु ,२ साउन- माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन् ।
मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् । श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।
साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए ।
‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन् ।’ सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए ।
श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्का सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तकलगायतको सहभागिता थियो ।
गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो ।