जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता होः सुदन किराती

काठमाण्डु टुडे २०८० असार २८ गते १३:५६ मा प्रकाशित

काठमाण्डु,२८ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे। मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको पनी बताए।

उनले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए ।उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए ।

दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको किरातीको भनाइ छ । उनले भने, ‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो ।

त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन । यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो ।

आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us