
काठमाण्डु, ३ असार-नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको साझेदारी गरेका थिए ।
कुशल शतक पूरा गर्नबाट १ रनले चुके।जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।यस्तै आसिफ शेख ६६ रनमा आउट भए ।
आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।
गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए ।