
काठमाण्डु, १ असार– गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०–०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा अघिल्लो वर्षभन्दा डेढ अर्ब सानो बजेट अर्थमन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेका हुन ।
सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ । पूँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेट ल्याइएको छ ।
सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएको हो । यसरी कम हुन आउने बजेट आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको अर्थमन्त्री आलेले बताएका छन ।
सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान राखिएको छ । आगामी वर्ष १.५ प्रतिशत प्रदेश सञ्चिति कोषमाथि व्ययभार पर्ने अनुमान गरेको अर्थमन्त्री आलेले बताएका छन ।
आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोडको अनुमान छ ।