बजेट कठिन परिस्थितिमा आएको हो, समस्या एकै पटक सल्टाउन सकिन्नँ: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० जेठ २९ गते १४:१० मा प्रकाशित

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिए ।’

उनले कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै विगतदेखिका समस्या एकै पटक नसल्टिने समेत बताएका छन ।

उनले बजेटमा विपक्षी दलका नेताले २ घण्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा भएको पुष्टि हुने बताएका छन । उनले भने, ‘यसबाट पुष्टि हुन्छ, बजेटमा केही महत्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ’ ।

उनले बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको बताएका छन । उनले आईटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको बताएका छन ।

उनले बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us