काठमाण्डु, २० जेठ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।
शनिबार काठमाण्डुमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए।
उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए। उनले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए।
कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने उनले बताए। उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए।