लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव: प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० जेठ १५ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन ।

आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार सक्रिय रहेको बताएका छन ।

उनले नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा वि सं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

उनले बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, ‘एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने सङ्घीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ’, ‘यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्छ ।

सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन ।’ प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयन चुनौती देखिए पनि हामीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको बताएका छन ।

उनले भनेका छन, ‘हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो ।’

उनले नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न सङ्घीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गिकार गरिएको स्पष्ट पार्दै विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित भएको बताएका छन ।

उनले यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो ।

संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्छ र हुँदै पनि गएका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us