मेस्सीलाई साउदी क्लबबाट ५२ अर्ब ४१ करोडको लोभलाग्दो प्रस्ताव

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १६:४४ मा प्रकाशित

एजेन्सी– अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पीएसजी बीचको सम्बन्ध चिसिदै गएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् ।

पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न सुरु गरेका छन । यसैक्रममा साउदी अरबियाले पनि मेस्सीमाथि आँखा लगाएको छ ।

साउदी सरकारले आफ्नो देशको ब्यवसायीक क्लबमा मेस्सीलाई आबद्ध गर्न ३२ करोड पाउण्ड वार्षीक पारिश्रमिकको प्रस्ताव टेलिग्राफ स्पोर्टसले जानाकारी दिएको छ ।

नेपाली रुपैयाँमा यो रकम करिब ५२ अर्ब ४१ करोड रुपैयाँ हुन्छ । विश्व क्लब फुटबलको इतिहासमा साउदी अरबियाले मेस्सीलाई प्रस्ताव गरेको पारिश्रमिक अत्यन्तै लोभलाग्दो हो ।

साउदीको प्रस्ताव आकर्षक भएकाले मेस्सी पनि त्यसमा सहमत हुने अनुमान गर्न थालीएको छ । उक्त प्रस्तावले मूर्त रुप लिएमा मेस्सी यही समरमा साउदी क्लबमा आबद्ध हुने भएका छन ।

चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि साउदीकै क्लबबाट ब्यवसायीक फुटबल खेल्छन् । यस विषयमा मेस्सीका पिताले साउदीको प्रतिनिधिसँग छलफल गरिरहेको समाचारमा बतायएको छ ।

पीएसजीसँग मेस्सीको सम्झौता आगामी जुनको अन्त्यमा सकिँदै छ । साउदीले मेस्सीलाई प्रस्ताव गरेको वार्षिक पारिश्रमिक रोनाल्डोलाई साउदी क्लब अल नसरले दिएको भन्दा १६ करोड ५० लाख पाउण्ड बढि रहेको छ ।

रोनाल्डोले गत डिसेम्बरमा सन् २०२५ सम्मका लागि साउदी क्लब अल नसरसँग सम्झौता गरेका थिए । पछिल्लो समय साउदीले आफ्नो घरेलु लिगमा विश्वका चर्चित खेलाडीहरूलाई ठुलो पारिश्रमिक दिएर भित्राउने नीति लिएको छ ।

बार्सिलोनाका पूर्वखेलाडी मेस्सीलाई थप एक वर्ष पीएसजीमै राख्न पनि प्रयास भइरहेको दाबी टेलिग्राफ स्पोर्टसले गरेको छ । तर, साउदीको प्रस्ताव निकै आकर्षक भएकाले मेस्सी एसियातर्फ नै लाग्ने दाबी समाचारमा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us