
काठमाण्डु, १९ वैशाख– नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडीमा छनोट भएका छन । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताएका छन ।
उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि तेस्रो स्थानमा उक्लिएर गुल्सन झाले राम्रो योगदान दिए ।’ उनले आफ्नो समकक्षी बलर ललित राजवंशीको पनि प्रशंसा गरेका छन ।
ललितले हरेक दिन आफ्नो खेलमा सुधार गरिरहेकाले उनको भविष्य उज्जवल रहेको लामिछानेले बताएका छन । उनले खेल हेर्न त्रिभुवन विश्वविद्यालको मैदानमा पुगेका सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका छन ।
लामिछानेले भने, ‘फ्यानहरु हाम्रो परिवार हुनुभएको छ । हरेक दिन घामपानी नभनेर आउनुहुन्छ । तपाईंको सामु खेल्न पाउँदा रमाइलो लाग्छ ।’
नेपालको क्रिकेटलाई अझै माथि पुर्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन । प्रतियोगितामा ओमानका बिलाल खान उत्कृष्ट बलर छानिए भने यूएईका भिर्तिया अरविन्द उत्कृष्ट ब्याटर घोषित भए ।