
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट बनाएका छन । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट बनाएका हुन ।
केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरेका छन । वर्षाका कारण अहिले खेल रोकिएको छ ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो । खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाउन सफल भएको थियो ।
नेपालका करण केसी एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए । सोमपालले परविन्दर कुमारलाई आउट गरेका थिए । यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो ।