कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १५:२७ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कपमा आज (बिहीबार) भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो ।

कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिन सफल भएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनाउन सफल भएको थियो ।

नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए ।

उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने । कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११र११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् ।

कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us