मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १३:१३ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन ।

हिजो (सोमबार) शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए ।

आज (मंगलबार) दिउँसो मिटरब्याज पीडितले गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका छन । उनी हरुले आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको बताएका छन ।

सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई सोमबार प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।

मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशबाहले सरकार आफूहरुको समस्या समाधान गर्ने भन्दा दमन गर्न उद्धत भएको बताएका छन ।

उनले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि बताएका छन । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो ।

तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह २० चैतदेखि काठमाण्डु केन्द्रित आन्दोलनमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us