तनहुँ–१ मा गोविन्द भट्टराईलाई मत दिन वाम लोकतान्त्रिक गठबन्धनको अपिल

काठमाण्डु टुडे २०८० वैशाख २ गते १८:०४ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– वाम लोकतान्त्रिक गठबन्धनले आगमी १० वैशाखमा तनहुँ–१ मा हुने उपनिर्वाचनमा गठबन्धका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेको छ ।

गठबन्धनमा आबद्ध दलहरूको आज शनिबार बसेको बैठकले भट्टराई जिताउन अपिल गरेको हो । बैठकले तनहुँ जिल्लाको विकास, समृद्धि र राष्ट्रलाई स्थायित्व दिन, सुशासन र सदाचार स्थापना गर्न लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई जिताउनुको विकल्प नभएको निष्कर्ष समेत निकालेको छ ।

कांग्रेस जिल्ला सभापति जितप्रकाश आले , नेकपा माओवादी केन्द्रका ओमराज आले, नेकपा एकीकृत समाजवादीका मनुमाया श्रेष्ठ र जनता समाजवादी पार्टीका अर्जुन गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन पनि भट्टराईलाई जिताउनुपर्ने बताइएको छ ।

सात दशकभन्दा लामो नेपाली जनताको सङ्घर्ष र बलिदानले स्थापित भएको वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा, स्थायित्व र विस्तृत शान्ति प्रक्रिया एवम् सङ्क्रमणकालीन न्याय लगायतका मुद्दालाई सम्बोधन गर्न भट्टराईलाई मत दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us