
काठमाण्डु,२ वैशाख– नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने बताएका छन ।
उडान शैक्षिक केन्द्रले शनिबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका छन ।
उनले भने, ‘सोर्सको मैले त्यत्तिको महत्त्व देखेकै छैन । मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि । मलाई थाहा छ । तपाईंहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन । त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो ।
त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिँदैन । क्षमतालाई आफैँले उजागर गर्ने हो । कोही पनि पर्फेक्ट हुँदै हुँदैन । सबै पढेर तैँले त बढी जानेको छस् भन्ने हुँदै हुँदैन ।
आफैँले कोसिस गरेर आफैँ जान्ने हुने हो । भगवान्ले हामीलाई यस्तो रिर्सोसेस दिएका छन् । जति त्यसको प्रयोग गर्यो, त्यति फाइदा लिन सकिन्छ । त्यो के हो रु भन्दा दिमाग हो ।
यसलाई जति प्रयोग गर्यो, त्यति फाइदा हुन्छ । जतिसक्दो त्यसलाई त्यति प्रयोग गर्नु पर्दछ ।’ उनले नेपालमा नपढ्नेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको बताएका छन ।
उनले त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने बताएका छन । उनले माध्यमिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरूको भविष्य आफूले नेपालमा राम्रो देखेको बताएका छन ।