पेन्सनको लागि उमेर हद बढाएपछि फ्रान्समा प्रदर्शन

काठमाण्डु टुडे २०८० वैशाख २ गते १३:२२ मा प्रकाशित

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्‍याइएको प्रस्तावमा हस्ताक्षर गरेसँगै फ्रन्समा विरोध प्रदर्शन चर्किएको छ ।

फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेका छन । परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन व्यापक रुपमा चर्किएको छ ।

आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका बीबीसीले जानकारी दिएको छ । प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोपमा ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ । फ्रान्सका ट्रेड युनियनहरूले सरकारविरोधी प्रदर्शन थप चर्काउन आह्वान गरेका छन् ।

ट्रेड युनियनहरूले मे १ मा देशव्यापी शक्तिशाली प्रदर्शन गर्ने घोषणा गरेको छ । राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपरेको बताएका छन ।

गत मार्चमा सरकारले एक विशेष संवैधानिक अधिकार प्रयोग गरी यो परिवर्तन गरेको थियो, जसका लागि मतदान गरिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us