
काठमाण्डु, १ वैशाख– आगमी १० वैशाखमा हुने उप–निर्वाचनमा बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुई–दुई पटक संसद् विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि निकै घातक भएको बताएका छन ।
आज (शुक्रबार) बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
यादवले आफ्नो नीहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद् विघटन गरेको बताएका छन । उनले अहिले पनि जनमत पार्टीको आन्तरिक अजेन्डा मधेश विखण्डन नै रहेकाले यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि अत्यन्तै घातक भएको बताएका छन ।
उनले कुनैपनि विधेयक संसद्बाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको र नागरिकता विधेयक रोकेर तत्कालनी राष्ट्रपति विद्या भण्डारीले लाखौं युवालाई अवसरबाट वञ्चित गराएको बताएका छन ।
उनले बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको बताउँदै काठमाण्डु बसोबास योग्य बनाउने बाराबासी नै रहेको समेत बतएका छन । यादवले बाराकै नागरिक हरिसिंह देवले काठमाण्डुको सभ्यता र संस्कृति स्थापित गराएको बताएका छन ।
उनले मधेश जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै त्यही योगदानको प्रतिफल स्वरुप आज मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको बताएका छन ।
उनले प्रतिगमनकारी शक्तिविरूद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिर गर्दै उनले विभिन्न कुतत्वहरूले संघीयता र लोकतन्त्रमाथि प्रहार गरिरहेको बताएका छन ।