
काठमाण्डु,३० चैत– २० चैतदेखि काठमाण्डुमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।
आज (बिहीबार) गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिएका छन ।
सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने उनले बताएका छन ।
५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको प्रवक्ता निर्ग नविनले जानकारी दिएका छन ।
उनले भने, ‘मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ ।
उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनुभएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौं’ । उनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले वास्ता नगरेको बताएका छन ।
यसअघि बिहीबार संघर्ष समितिले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता गरेका थिए । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन स्थगित गर्न आग्रह गरेको र आफूहरुले नमानेको उनले बताएका छन ।