
काठमाण्डु,३० चैत– नयाँ वर्षको अवसरमा मध्यपुर थिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने भएको छ ।
नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिएका छन । यस वर्ष ३० चैत देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको श्रेष्ठले बताएका छन ।
हरेक नयाँ वर्षमा मध्यपुर थिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाउदै आएको छ । स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो । यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइने गरीन्छ ।
उनले भने, ‘स्थानीय तहले बिदा नदिँदा यहाँका बासिन्दाले चाड राम्रोसँग मनाउन पाएका थिएनन्, त्यसैले यस वर्षदेखि चार दिन बिदा दिने निर्णय गरेका हौं ।’
विस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् ।