मन्त्री छनोटका लागि शेखर–गगन समूहको बैठक बालुवाटारमा जारी

काठमाण्डु टुडे २०७९ चैत ३० गते ११:१३ मा प्रकाशित

काठमाण्डु, ३० चैत– आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर –गगन समूहको बैठक जारी छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक जारी छ ।

तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी रहेको छ ।कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी रहेको छ ।

१७ चैतमा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।

देउवाले सोही दिन शेखर कोइरालाको मनसाय बुझेर उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । तर गुरुङ र लिम्बुलाई मात्र मन्त्री बनाउने देउवाको सङ्केत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जान नहुने अडान राखेका थिए ।

शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए ।

अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us