नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकको ५० प्रतिशत ढुवानी सकियो

काठमाण्डु टुडे २०७९ चैत २९ गते १३:१५ मा प्रकाशित

काठमाण्डु,२९ चैत– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसकेको जानकारी दिएको छ ।

१ वैशाख देखि सुरु हुन लागेको २०८० को शैक्षिक सत्रका लागि जिल्ला सदरमुकाममा पाठ्यपुस्तकको ढुवानी भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन ।

उनले भने, ‘यो पटक ऐतिहासिक काम भएको छ । कक्षा ६ देखि १० सम्मका लागि १ करोड ५० लाख थान पाठ्यपुस्तक छापिसकिएको छ । ५० प्रतिशत किताबको ढुवानी समेत सकिएको छ,’ ।

केन्द्रले गत शुक्रबारदेखि नै पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको थियो । पाठ्यपुस्तक बिक्री वितरणका लागि केन्द्रका ९ वटा बिक्री केन्द्रबाट काम गर्दै आएको छ ।

त्यस्तै १ हजार २६७ बिक्रेतामार्फत केन्द्रले पाठ्यपुस्तक विक्री वितरणको कार्य गर्दै आएको झाले बताएका छन ।हिमाली र पहाडी क्षेत्रका ४९ जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेका छन् ।

त्यस्तै अन्य जिल्लामा समेत पाठ्यपुस्तक ढुवानी गर्ने काम भइरहेको उनले बताए । केन्द्रले सबै प्रादेशिक कार्यालय मार्फत पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।अबको एक हप्ताभित्रमा सबै जिल्ला र सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने जनक शिक्षाले जानकारी दिएको छ ।

वैशाखको पहिलो साताभित्रमा सबै विद्यालयमा पाठ्यपुस्तक पुग्ने गरी काम अघि बढिरहेको झाले बताएका छन । केन्द्रले यो वर्ष समयमै पाठ्यपुस्तक छाप्नु र समयमा नै ढुवानी गर्नुलाई ऐतिहासिक भनेको छ । ‘विगतमा हुने कागजको अभाव यो वर्ष भएन । पुँजीगत खर्चको समस्या हुने गरेको थियो । यो वर्ष त्यो पनि भएन ।

जसले गर्दा हामीले सहजै काम गर्न पायौँ,’ झाले भने । विगतमा कोरोना महामारी, कागजको अभाव लगायतका कारणले समयमा नै पाठ्यपुस्तक छाप्न नसकेको केन्द्रले जनाएको छ ।

जसले गर्दा केन्द्रको चर्को आलोचना हुँदै आएको थियो । यो वर्षदेखि केन्द्रले ५ वटा पुस्तक छपाइ मेसिनबाट काम गर्दै आएको थियो । विगतमा २ वटाले मात्र काम गर्दै आएकोमा यो वर्षदेखि थप ३ वटा मेसिनसहित काम थालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us