माओवादी केन्द्रका नेतालाई जेल कोच्ने सपना पूरा हुने छैन: महरा

काठमाण्डु टुडे २०७९ चैत २७ गते १४:१६ मा प्रकाशित

काठमाण्डु,२७ चैत– राष्ट्रिय सभाका सदस्य महेश कुमार महराले विस्तृत शान्ति सम्झौतालाई भंग गर्ने प्रयासहरु हुन थालेको आरोप लगाएका छन ।

आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महराले यस्तो बताएका हुन । उनले भने, ‘विस्तृत शान्ति सम्झौतालाई भंग गरेर फेरि देशलाई द्वन्द्वतिर लैजाने किसिमका अभिव्यक्तिहरु, घटनाक्रमहरु भइरहेका छन् ।’

उनले १० वर्षे जनयुद्धको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै उनले त्यसलाई अन्यथा ब्याख्या नगर्न आग्रह गरेका छन । उनले जनयुद्धले ल्याएको उपलब्धि मान्ने तर, जनयुद्धलाई नमान्ने हुन नसक्ने बताएका छन ।

उनले जनयुद्धलाई अपराधीकरण गरेर नेकपा माओवादी नेताहरुलाई जेल हाल्ने सपना नदेख्न आग्रह गरेका छन । उनले प्रहरी जवान विष्टको उपचार खर्च व्यहोर्न सरकारसँग माग गरेका छन ।

उनले हाल काठमाण्डुको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका प्रहरी जवान हर्कस विष्टको सम्पूर्ण उपचार खर्च व्यहोर्न सरकारसँग माग गरेका छन ।

खर्च अभावमा उनको उपचारमा कठिनाइ भइरहेको उल्लेख गर्दै सांसद महराले उपचारको जिम्मेवारी तत्काल लिन सरकार र नेपाल प्रहरीको ध्यानाकर्षण गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us