दुर्गा प्रसाईंसँग पैसा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठ निलम्बित

काठमाण्डु टुडे २०७९ चैत २६ गते १५:०० मा प्रकाशित

काठमाण्डु ,२६ चैत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।

आइतबार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो। पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो ।

उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए । पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको प्रवक्ता ढकालले जानकारी दिए । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए ।

‘पार्टी पदाधिकारी बैठकले श्रेष्ठ सांसद पदमा रहने कि नरहने भन्ने विषयमा अध्ययन गरी सात दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउन समितिलाई भनेको छ । सो प्रतिवेदन आएपछि थप काराबाही अगाडि बढाउने छ’ प्रवक्ता ढकालले भने ।

अहिले तत्काल सांसद ढकाललाई पार्टीको पदमा रहेर कुनै पनि काम कारबाही नगर्न निर्देशन दिइएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us