पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनाव मात्रै लोकतन्त्र होइन: स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०७९ चैत १८ गते १७:०७ मा प्रकाशित

काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको बताएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न आज शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको बताएका छन । उनले भने, ‘हामी पाँच–पाँच वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका छौं’ ‘पुराना पार्टीहरुमा टिकटको किनबेच हुन्छ ।

हाम्रोमा सभापतिको हस्तक्षेप भएन । हामी प्राइमरी चुनाव जितेर आयौं, पार्टीभित्रको प्राइमरी चुनाव कुशासन तोड्ने प्रमुख अस्त्र हो ।’

उनले चुनावपछि खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको बताएका छन । उनले भने, ‘खर्चिलो चुनाव र महंगो टिकटको लगानी उठाउनेतिर ध्यान जाँदा समृद्धि छायाँमा पर्छ’ ‘सुशासनका लागि लोकतन्त्रलाई विकृत बनाइरहेको पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्नेछ ।’

उनले सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने बताएका छन । उनले भर्खरै सम्पन्न भएको जनगणनाको नतिजाले पनि नेपालमा जनसांख्यिक लाभ रहेको देखिएको र यही अवसरमा डेलिभरीको राजनीति गर्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us