प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ

काठमाण्डु टुडे २०७९ चैत १७ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, १७ चैत– प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा २ जनालाई पक्राउ गरेको छ ।

महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

उनले भने, ‘प्रश्नपत्र आउट भएको देखिन्छ तर उत्तर पठाएको देखिँदैन्, यस विषयमा हामीले परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेका छौँ ‘प्रश्नपत्र आउट भएपनि बाहिरबाट उत्तर भित्र आएको देखिँदैन ।’

एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरेका थिए ।

प्रजिअ सापकोटाले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा आकस्मिक बैठक बसेर अनुसन्धान शुरु भइसकेको बताएका छन । एसईईको पहिलो दिन आज अंगेजी विषयको परीक्षा सञ्चालन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us