कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०७९ चैत १७ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, १७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पुनः विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेरनदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा रहेका छन ।

कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने अर्थमन्त्री समेत रहेका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिएका छन ।

प्रदेश सभाको ठूलो दल कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसले आफूले सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ । १० पुसमा गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा २७ पुसमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाइरहेका छन् ।

कर्णाली प्रदेशमा प्रष्ट बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३ र एमालेसँग १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १ र १ जना प्रदेश सांसद रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us