दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेका छन्: पौड्याल

काठमाण्डु टुडे २०७९ चैत १६ गते १४:२८ मा प्रकाशित

काठमाण्डु,१६ चैत– राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दललाई आग्रह गरेकी छन् । आज (बिहीवार)को राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन ।

उनले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी छन ।

उनले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताएकी छन । उनले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने पनि बताएकी छन ।

त्यसैगरी उनले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन । उनले भनिन्, ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौँको मात्रै पेवा रहेछ ।

मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने । कार्यदल बनाएको सरकारले भन्ने कुरा हामीले सुनेका छौँ । कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुपर्यो ।

मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन । अर्थतन्त्रले नि चिन्दैन । कानुनले पनि चिन्दैन । नचिन्ने मिटरब्याजी कहाँबाट आयो ? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ रु मलाई थाहा छैन । कानुन छैन भने ल्याउनुपर्यो । तुरुन्तै ल्याउनुपरयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us