मन्त्री बन्न लागेको भन्ने कुरामा सत्यता छैन: महामन्त्री थापा

काठमाण्डु टुडे २०७९ चैत ११ गते १३:२१ मा प्रकाशित

काठमाण्डु, ११ चैत– कांग्रेस महामन्त्री गगन थापाले आफू मन्त्री बन्न लागेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन । आज (शनिबार) कांग्रेस क्षेत्रीय कार्यसमिति रुपन्देहीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

थापाले आफु मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिरहेको बताएका छन । उनले भने, ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ ।’

थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको बताएका छन । उनले भने, ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन ।

जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडि बढेको छु ।’ उनले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने पनि बताएका छन ।

उनले भने, ‘सरकारले जनतालाई राहत महसुस गराउनुपर्छ’, थापाले कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको गुनासो समेत गरेका छन । उनले भने, ‘आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्छ ।’

वि.सं. २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us